निरन्तर वर्षा, तर धेरै जाडो किन छैन ?

बुधबार र बिहीबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ डिग्री सेल्सियसको हाराहारीमा छ । शुक्रबार बिहान साढे ६ बजेको न्युनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस छ । आठ डिग्री न्युनतम तापक्रम हुँदा ठिहिर्‍याउने चिसो हुँदैन ।

यसबारे थप प्रष्ट पार्दै मौसमविद कँडेलले भनिन्, ‘आकाशमा बादल नहुँदा अर्थ सर्फेसबाट सोलार रेडिएसन एटमोसफेयरमा ब्याक हुन्छ, जसले गर्दा जमिन चिसो हुन्छ र न्यूनतम तापक्रम कम हुन्छ । तर बादल लागेपछि सर्फेसबाट एटमोसफेयरमा जाने सोलार रेडिएसन ट्र्याप भएर बस्छ । बादलले ग्रिनहाउस जस्तो काम गर्छ । त्यहीभएर न्यूनतम तापक्रम बढ्छ र धेरै चिसो हुँदैन ।’

दिउँसोको बेला केहीबेर बादल हट्ने र हल्का घाम लाग्ने हुँदा बिहान-बेलुकाको तुलनामा चिसो बढ्छ । शुक्रबार पनि दिउँसो एकछिन बादल खुलेजस्तो हुने र फेरि बदली हुने मौसमविदको अनुमान छ ।

मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौं उपत्यकासहित देशभर पानी परिरहेको छ । उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको छ ।

पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायु पूर्वतर्फ सर्दै आइरहेको छ । शनिबार पश्चिम नेपालमा अलिकति मौसम सफा हुने छ । मध्य नेपालमा भने दिनभरी नै बदली हुनेछ । ‘मध्य भागमा शनिबार कहिले घाम लाग्ने, कहिले बादल लाग्ने हुन्छ तर बिहीबार जस्तो निरन्तर वर्षा चाहिँ हुँदैन,’ मौसमविद कँडेलले भनिन्, ‘पूर्वमा चाहिँ शुक्रबार र शनिबार नै पानी पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *