जसले भारतमा भन्दा पहिले नेपालमा कम्प्युटर बनाए

 

काठमाडौं : धेरैलाई थाहा नहोला सन् १९७९ मा नेपालमा ‘माइक्रो कम्प्युटर’ बन्दा भारतमा कम्प्यूटर बनेको थिएन्। देवनागरिक लिपी लेख्ने कम्प्युटर बन्दा आइबीएम, एप्पल कम्पनीहरु कम्प्यूटर बनाउन प्रयासरत थिए। त्यतिबेला नेपालका वैज्ञानिक मुनिबहादु शाक्यले नेपालमा कम्प्यूटर बनाइसकेका थिए।

विश्वप्रसिद्ध मिडियाहरु बिबिसी, सिएनएनले नेपालमा बनेको कम्प्यूटरको बारेमा समाचारहरु प्रशारण, प्रकाशन गरेका थिए।

३८ वर्षअघि कम्प्यूटर बनाएका शाक्य अझैपनि आविष्कार गर्न थाकेका छैनन्। उनको दैनिकी प्रयोगशालामा अध्यन अनुसन्धान गर्नमै बित्छ। प्रयोगशालामा पुगेका विद्यार्थीहरुलाई उनी नयाँ नयाँ ‘इन्भेन्सन’को आइडिया दिइरहेका भेटिन्छन्।


काठमाडौँको घट्टेकुलो चोकमा पर्खालले घेरिएको सेतो घर छ। ढोका खोलेर भित्र पसेपछि एउटै कम्पाउण्डमा ३ वटा घर रहेको थाहा हुन्छ। एउटा आवास,दोस्रो कार्यालय र तेस्रो कम्पुटर संग्रालय। अफिसको भित्तामा किशोर उमेरदेखि अहिलेसम्म साधनामा तल्लिन शाक्यका फोटो शृंखला देख्न सकिन्छ। ती फोटोहरु हेर्दा जो कोहीले बुझ्न सक्छ, उनको प्रविधीसँगको लगाव, त्याग र सर्मपण।

शाक्य सुनाउँछन्, ‘यो घरमा नछिर्ने कुनै मन्त्रीहरु छैनन्। संग्रालय अवलोकन गरेर राम्रो काम गर्नुभएको रहेछ भन्दै स्यावासी दिन कोही बाँकी छैनन्। तर, यो घरको गेटबाट निस्किेपछि उनीहरु फर्केर आउदैनन्।’

शाक्यले कम्प्युटर बनाउनको लागि ४ करोडभन्दा बढी लगानी गर्दा अनामनगरमा जग्गाको भाउ ८ हजार रोपनी थियो। उनले करौडौ रकम प्रविधीमा खर्च गर्दा ‘बौलाहा’ भने। उनलाई थाहा थियो, नबौलाइकन सफल भइदैन्। सफल त भए, तर देशमा विज्ञान प्रविधीको केन्द्र बनाउने उदेश्य पुरा गर्न सकेनन्।

शाक्यसँग गुनाशोरुपी समस्याको चाङ मात्र छैन्। ‘एबाकस’देखि अहिलेसम्मको सबै प्रविधि र उपलब्धी संग्रहित छ। जापान र भारतमा समेत कम्पुटर अनौठो रहेको बेला नेपालमा बनेको ‘माइक्रो कम्प्यूटर’ छ। देवनागरिक लिपी लेख्ने पहिलो कम्प्यूटर लगायत अन्य प्रविधीले भरिएको संग्रालय छ।

यसरी बन्यो नेपालमा पहिलो माइक्रो कम्प्यूटर

सन् १९९७ मा अनेक प्रयत्नपछि शाक्यको कम्प्यूटर बनाउने प्रयास सफल भयो। दिनरात लगाएर बनाएको त्यो यन्त्र नेपालको पहिलो कम्प्युटर थियो।

उनले पछि मात्र थाहा पाए, नेपालमा कम्प्युटर बनाइसक्दा भारतमा समेत कम्प्युटर बनिसकेको थिएन। उनी आफै दंग परे।

कम्युटर बनाउनु पहिले आफैले पावरसप्लाई युनिट र भिडियो कार्ड बनाए। बेलायतमा निर्माण भएको माइक्रोप्रोफेसर थियो। अमेरिकाबाट किबोर्ड ल्याएका थिए। त्यसमै रसियन टिभीको मनिटरमा जोडेर कम्प्युटरको कमाल देखाइदिए।

कम्प्यूटर त बन्यो ? अब के गर्ने, कहाँ प्रयोग गर्ने ? शाक्य दोधारमा थिए।

सयुंक्त राष्ट्रसंघले काठमाडौंमा दक्षिण एशियाली वैज्ञानिकहरुको सम्मेलन आयोजना गर्यो। त्यहाँ उनले आफुले बनाएको कम्पुटर देखाए। चीनको सिन्ह्वा न्युजले ‘नेपाली बैज्ञानिकले कम्प्युटर बनाए’ भन्ने समाचार प्रकाशित गर्यो। सिन्ह्वाको सो समाचारलाई बेलायत, फ्रान्स र अमेरिकालगायतका देशका संचारमाध्यमले महत्वपूर्ण स्पेश दिए।

अन्तराष्ट्रिय संचारमाध्यममा समाचार आएपछि फ्रान्स र बेलायतले उनको खोजी गर्यो। अवसरहरुले उनलाई पछ्यायो।


मुनिबहादुर नेपालमै केही गर्न चाहन्थे। उनको चाहना ‘म्यान’ नामक संस्थाले पुरा गर्यो। उनी कम्प्यूटर सिकाउने तालिम दिन थाले। तालिमको उद्घाटन गर्न तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मोहनमान सैजु आए। तालिम लिने कोही भएनन्। सरकारी कर्मचारीहरुलाई तालिममा उपस्थित गराइयो। उनीहरु कम्युटरमा डाटा इन्ट्री लगायत अन्य काम गर्न एक हप्तामा नै पोख्त भए।

‘एकहप्तामा तपाईहरु यति धेरै जान्ने भइसक्नुभएको छ। गर्ने हो भने १ वर्षमा के गर्न सकिदैन? हामीलाई मुनि शाक्य जस्तो मान्छे चाहिएको छ। नेपाललाई आईटी क्षेत्रको केन्द्र बनाउनुपर्छ’ सैजुको भाषण सम्झँदै शाक्य भन्छन्, ‘जुग बितिसक्यो, व्यवस्था पटक पटक फेरियो तर, कम्पुटर केन्द्र बन्न सकेन।’


पाटनमा जन्मिएका शाक्य त्रिचन्द्र कलेजबाट आइएस्सी सक्ने बित्तिकै भारत गए। भारत को वंगाल रेडियो इलेक्ट्रोनिक्स पढ्न थाले।

यो सन् १९६५ को समय थियो।

उनी त्यहाँ रात्री कक्षामा भर्ना भएका थिए। क्याम्पसबाट फर्किदा रातको १२ बजिसकेको हुन्थ्यो। विदेशको ठाउँ काम नगरि सुख थिएन्। केही सिक्नको लागि पनि काम गर्नै पर्थ्यो।

पढाइ सुरु गरेको केही दिनमै इन्जिनियरिङ फर्ममा सुपरभाइजरको काम पाए। उनी त्यतिबेला २३ वर्षको मात्रै थिए। रातीको क्लासपछि गृहकार्य सक्दानसक्दै तीन बजिसकेको हुन्थ्यो। बिहान सबैरै काममा जानुपर्थ्यो।

‘त्यो ५ वर्ष कसरी बिताए, मलाई मात्र थाहा छ।’ उनी विगत सम्झिदै भावुक हुन्छन।

पढाई सक्नासाथ शाक्य नेपाल फर्के। हातमा सिप र पढाइको प्रमाणपत्र भएकाले काम पाउन गाह्हो थिएन। खुमलटारमा रेडियो नेपालको १०० किलोवाटको टावर स्विस सरकारले सहयोगमा दिएको थियो। त्यसको प्राविधिक प्रमुख भए।


टावर बनाउन बेलायतबाट ३ जना इन्जिनियर आएका थिए। शाक्यको लगनशिलता र नविन सोचले उनीहरु प्रभावित भए। उनलाई चार्टर ईन्जिनियरिङ गर्नको छात्रवृतीमा बेलायत बोलाए। उनले आएको अवसरलाई ‘नो’ भनेनन्। बेलायतमा पढाइमा अब्बल दरिए। शिक्षक र विद्यार्थीका माझमा आर्कषणको केन्द्र बने।


चार्टर इन्जिीनियरिङ सक्ने बित्तिकै उतैबाट अमेरिका गए। अमेरिकाको आईटी कम्पनीमै काम शुरु गरे। तलबसुविधा राम्रै थियो तर नेपाल फर्किए।

नेपाल फर्केको केही वर्षमै फेरि छात्रवृती पाएर फ्रान्स गए।

फ्रान्समा शाक्यले माइक्रोप्रोसेसरबाट कन्ट्रोलर र भिडियो कार्ड बनाए। २ वर्ष त्यहाँ बसेर सन् १९७९ मा नेपाल फर्के।

नेपाल फर्कनासाथ नै उनले माइक्रोकम्प्यूटर बनाए। त्यही कम्प्युटरले नै उनी चर्चित भएका थिए।

कम्प्यूटर बनाएपछि शाक्यलाई रेडियो नेपालले अन्तरवार्ताका लागि बोलायो। रेडियोमा कम्पुटरको बारेमा विस्तृत जानकारी दिए। रेडियो नेपालको एकछत्र राज रहेको सो बेला उनको अन्तरवार्ताले धेरैको ध्यान खिच्यो।

१९८० मा कम्प्युटर वैज्ञानिकहरुको निमन्त्रणामा अमेरिका गए। अमेरिकाको दोस्रो यात्रा जागिर खाने भन्दापनि धेरै सिक्ने हुटहुटी थियो।

त्यतिबेला एप्पल कम्पनीले जम्मा ८० किलोबाइट क्षमताको कम्प्युटर बनाएको थियो। उनले ९०० सय किलोबाइट क्षमताको कम्प्युटर बनाए। अमेरिकामा सबै काममा सफल भए। प्रशस्त सम्भावना हुँदाहुँदै फेरि नेपाल फर्किए। एकाग्र भएर कम्प्युटर बनाउन लागिपरे।

देवनागरी लिपीमा लेख्ने कम्प्युटर सन् १९८३ मा बनाए। राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली’ टाइप गरेर प्रिन्टमा देखाए। त्रिचन्द्र कलेजमा प्रर्दशनी गरेर देखाइदिए। त्यही प्रदर्शनीबाट मानिसहरुले कम्प्यूटरको बारेमा धेरै थाहा पाए।

अमेरिका छोडेर आएको, भारत किन जानु ?

देवनागरी लिपीमा लेख्ने कम्प्युटर नेपालमा बनेको खबर भारतमा चर्चित बन्यो। भारतमा कम्पुटर बनेको थिएन। देवनागरिक र भारतीय लिपी उस्तै भएकाले भारतमा कम्प्यूटर बनाउन धेरै निमन्त्रणा आउन थाल्यो। ‘अमेरिका छाडेर आएको म भारतले बोलाउँदैमा किन जान्थे, गइनँ।’ शाक्यले विगत सुनाए।

उनी नेपालमै केही गर्न चाहन्थे।कम्पुटर परियोजनाका लागि सरकारसँग योजना प्रस्तुत गर्दै गए। हुँदैन भनिएन तर सहयोग पनि गरिएन।केही सिप नलागेपछि उनी एक्लै तम्सिए। सन् १९८५ मा ‘हाइटेक पायोनियर’ नामको कम्पनी खोले। त्यसको १२ वर्षपछि जेएनआइसिटी नामको इन्टरनेट सेवा प्रदायक कम्पनी खोले।

कम्प्युटर म्यानफ्याक्चर कम्पनी सन मुन कम्प्युटर इन्डस्ट्री अगाडि नै चलाइसकेका थिए। सन् १९९५ मा करोडौँ खर्चेर कम्पुटर बनाउने मेसिन भित्राए। हात्तिजत्रो मेसिन आएको भन्दै कर्मचारीले भन्सारमा अनेक केरकार गरे।
कर्मचारी के मान्थे ? अनेकौँ प्रयासपछि उनले ५ प्रतिसत कर तिरेर यन्त्र काठमाडौँ ल्याए ।


शाक्यले कम्प्युटरमा भएको कामलाई दुईसयभन्दा बढी कम्प्युटरबाट हेर्न सक्ने प्रणालीको विकास गरेका छन। मानवसरहको रोबर्ट, सेक्युरिटी यन्त्र उपकरण र अरु थुप्रै कम्प्युटर पार्ट्सहरु उनको संग्रालयमा देखिन्छन। ए ब्रेन अफ कम्प्युटर, बुफेल्लो कम्प्युटर, सुपर कम्प्युटर, नेपाली रोबर्ट्स उनले निर्माण गरेका केही उत्कृष्ट नमुनाहरु हुन्।

ग्रिन कम्प्युटर अर्थात सोलारबाट चल्ने कम्प्युटर बनाए। ग्रिन कम्प्युटरलाई लिएर थुप्रै टेक्नोलोजीका मानिसहरुले अबको जमाना ग्रिन कम्प्युटरको जमाना समेत भने। १६ वटा कम्युटर एकै ठाउबाट चल्ने सुपर कम्प्युटर पनि बनाए।


कृषि विकास बैंकलाइ २० ओटा र अरु आइएनजिओलाई केही कम्प्युटर बेचे। उनको उत्पादन उच्च गुणस्तरियको साथसाथै विदेशी कम्प्यूटरभन्दा ३० प्रतिसत सस्तो थियो। तैपनि, उनको उत्पादन ओझेलमा पर्न गयो।

यसैबीच उनले २० वटा ग्रिन कम्प्युटरको सहायताले कालीकोट लगायतका केही जिल्लामा टेलिमेडिसिन सञ्चालन गरिरहेका छन्। उनले विकास गरेको जस्तै टेलिमेडिसिन प्रविधी धरानस्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रयोग भएको छ।

बोलेको कुरा कम्प्युटरले आफै लेख्ने सिस्टमको विकास सन् १९८६ मा नै गरेका थिए। भ्वाइस रिकग्निसन सिस्टम, भ्वाइस डिक्सनरी, कम्प्युटर सहायता शिक्षा, नेपाली टु इंगिलस र इंगिलस टु नेपाली डिक्सनरी, विकिरण मनिटर, नेपाली सबटाइटल डिस्प्ले, नेपाली मल्टिमिडियालगायतका प्रोगामहरु धेरै पहिले नै विकास गरेका थिए।

सरकारले बनेपामा आईसीटी पार्क स्थापना गरेको छ। तर, पार्क उपयोगविहिन अवस्थामा छ। शाक्यसँग पार्कलाई गति दिने उपाय छ। उनीसँग सरकारसँग भएभन्दा धेरै सामाग्री छन। भावि पुस्ताका लागि ति सामाग्रीको सुरक्षा होस् भन्ने चाहन्छन्।

‘मेरो संग्रालयबाट सबै कम्प्यूटर लगेर राखोस्। संग्रालय हेर्न आउनेहरुबाट पैसा उठाओस्। प्रविधीमा लगानी लगाएर रोजगारी सिर्जना गरोस्।’ शाक्य भन्छन्, ‘सरकारले त्यतिमात्र गरे आफ्नो देशलाई चाहिने सबै नेपालमै बन्थ्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *