आयोडिन के हो ? कसरी प्राप्त गर्ने ? के छ यसको फाइदा ?

नेपालमा आयोडिनको कमीबाट उत्पन्न हुने कुपोषण लगायतका विभिन्न जटिल समस्याको समाधान गर्न जनचेतनाको खाँचो छ। त्यसैले हरेक वर्ष फेबु्रअरीलाई आयोडिन प्रबर्धन महिनाको रुपमा मनाइन्छ। मुलुकभरिका गर्भवती, आमा–शिशु तथा बालबालिकाको सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि–विकासका लागि आजदेखि आयोडिन प्रबर्धन महिना मनाउन सुरु गरिएको हो।

आयोडिनको परिचयः आयोडिन प्याजी–कालो रङको धातुरहित ठोस, रासायनिक पोषिलो खनिज तत्व हो। यो थाइरोइड हर्मोनलाई टुक्र्याउने कामका लागि आवश्यक पर्छ। सन् १८११ मा फ्रान्सेली वैज्ञानिक बर्नाड क्वारटाइजले एक किसिमको अत्यावश्यक पौष्टिक रासायनिक पदार्थ पत्ता लगाएका हुन्। जसलाई दुई वर्षपछि लुइस गे लुसेले ‘आयोडिन’को नामकरण गरेका हुन्।

पृष्ठभूमिः विश्वका कम विकसित मुलुकको जनसंख्यामा आवश्यक मात्रामा आयोडिनको सेवन हुन नसकी यसको कमीबाट विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन्। यस्तै विकसित मुलुकको जनसंख्या खाद्य पदार्थमा रहेको आयोडिनलाई तयारीका क्रममा हटाइँदा आयोडिनको कमी भएका खाना मात्र खाने गर्छन्, जसको फलस्वरुप आयोडिनको कमी पाइन्छ।

विश्वका करिब २ अर्ब जनसंख्यामा आयोडिनको कमीबाट उत्पन्न कुपोषण लगायतका विभिन्न समस्याबाट आक्रान्त भई बौद्धिक अशक्तता भएका छन् भने कुपोषित कुल बालबालिकामध्ये दुई तिहाइ जति एसियाका छन्। जहाँ वर्षेनी ११ लाखभन्दा बढी शिशु जन्मँदै कम तौल (२५ सय ग्रामभन्दा कम)का का हुन्छन्। दक्षिण एसियाका करिब ७८ हजार बालबालिकामध्ये करिब आधाजति कुपोषित पाइएका छन्।

नेपालको मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १ सय ७० जना छ। आमाको मृत्यु भएमा शिशुको बाँच्ने सम्भावना पनि कम हुन्छ। एक वर्षमुनिका शिशुमध्ये ४६ जनाको मृत्यु हुने गर्छ भने ११.३ प्रतिशत कम तौल भएका जन्मने गर्छन्।

पाँच वर्ष मुनिका बालबालिकामध्ये ५४ जनाको मृत्यु हुने गरेको छ, जसमा उमेरअनुसार तौल नपुगेका २७ प्रतिशत  बामपुड्केको संख्या ३६ प्रतिशतभन्दा बढी छ। नेपालमा वर्षेनी ५० हजारभन्दा बढी बालबालिका मर्ने गर्छन्, जसमध्ये ६० प्रतिशतभन्दा बढीको आयोडिनको कमीबाट उत्पन्न कुपोषणका कारणले समेत मृत्यु हुने गरेको छ।

थाइरोइडको परिचयः थाइरोइड घाँटीभित्र झन्डै स्याउ आकारको ग्रन्थीको तल हुने इन्डोक्रिन ग्रन्थी हो। थाइरोइडले थाइरोइड, थाइरोक्सिन/टी४, र ट्राइआइडो थाइराक्सिन÷टी३ नामक ३ किसिमका हर्मोन उत्पादन गर्छ। थाइरोइडले ठिक तरिकाले काम गर्न सकेन भने पूरा शरीरले नै राम्ररी काम गर्न सक्दैन। त्यसकारण थाइरोइड ग्रन्थीलाई सही किसिमले काम गर्न, खानालाई शक्तिमा रुपान्तरण गर्न र शारीरिक तथा मानसिक विकासका लागि आयोडिन अत्यन्त आवश्यक पर्ने पौष्टिक खनिज पदार्थ हो।

दिनहुँ खानैपर्ने तर एकदमै थोरै मात्रामा अर्थात् कम्तीमा १ सय ५० माइक्रोग्राम (एउटा सियोको टुप्पो जतिमात्र) आयोडिनको सेवन गरेमा आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्या आउन सक्दैन भने गर्भवती, आमा तथा शिशुको चौतर्फी विकासका लागि मनग्ये पुग्छ। त्यसकारण यसलाई सूक्ष्म पोषक तथा खनिज तत्व भनेर चिनिन्छ।

आयोडिनको महत्वः सूक्ष्म पोषक तत्व आयोडिन थाइरोइड ग्रन्थीलाई सही किसिमले काम गर्न र  खाएको खानालाई अधिकतम मात्रामा शक्तिमा रुपान्तरण गर्नका लागि अत्यन्त आवश्यक पर्ने खनिज पदार्थ हो, जसले शारीरिक, मानसिक बृद्घि र पाचन प्रणालीलाई सहयोग पु¥याउँछ। आयोडिन गर्भवतीदेखि जन्मेका शिशुका साथै बढ्दो उमेरका बालबालिका लगायत शारीरिक तथा मानसिक बृद्घि÷विकास मात्र नभई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पर्ने सूक्ष्म पोषक तत्व हो।

आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीरबाहिर निकाल्छ भने वयस्कलाई भन्दा शिशुलाई बढी मात्रा आयोडिनको आवश्यकता पर्दछ। आयोडिनको कमी हुँदा थाइरोइड ग्रन्थीमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष वा परोक्ष रुपमा महिलामा स्तन क्यान्सरको सम्भावना हुन्छ।

यदि गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुन सक्ने, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक बृद्घि÷विकास अत्यन्त कम हुने हुनाले बालबालिकाहरु गलगाँड, लाटा, लठेब्रा तथा सुस्त मनस्थितिका हुन्छन्।

यस्ता बालबालिका तथा युवाले भविष्यमा राम्ररी लेखपढ गर्न नसकी जीवन नै अनुत्पादक बन्न पुग्छ। आयोडिन हानिकारक सूक्ष्म जिवाणुलाई नष्ट गर्न प्रयोग गरिन्छ, साथै यसले छाला, नङ र कपाललाई स्वस्थ राख्दछ।

आयोडिनका स्रोतहरुः समुद्रमा पाइने प्राकृतिक खाद्य पदार्थ (सेलफिस, फिस, कर्डफिस आदि) तथा समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरिया खाद्य पदार्थमा सबैभन्दा बढी आयोडिन पाइन्छ भने माटोमा उब्जने खाद्य पदार्थ, तरकारी, फलफूल (स्ट्रबेरी), हरियो र गाढा रङका सागपातजन्य खाद्यपदार्थ, गाईको दूध, दुग्ध पदार्थ, अन्डा, भटमास, लसुन र आयोडिनयुक्त नुनमा आयोडिन पाइन्छ।

आयोडिन प्रबर्धनमा समस्याः आयोडिन समुद्रमा पाइने मत्स्यजन्य, वनस्पतिजन्य खाद्यपदार्थ र माटोमा उब्जने वनस्पति तथा फलफूल जस्ता खाद्य पदार्थमा पाइन्छ। तर भूपरिवेष्ठित देश भएकाले नेपालमा चाहेर पनि प्राकृतिक आयोडिनयुक्त खाद्य पदार्थको सेवन गर्न असमर्थ हुनुपरेको छ। मौसममा भर पर्नैपर्ने हाम्रो जमिन (खेत, बारी) मा उब्जिएका तरकारी तथा फलफूलबाट पाउने आयोडिन पनि आवश्यक मात्रामा पाउन सकेका छैनौं। किनभने सूर्यका किरणले समुद्रबाट शोषण गरेर वर्षाको पानीसँगै वर्षेको आयोडिन पनि अग्ला, भिराला जमीनमा खेती गर्दा बाढी र पहिरोले माटो बगाउँदा आयोडिन पनि बगेर जान्छ।

अर्कोतिर भौगोलिक दुर्गम, उच्च पहाडी क्षेत्रमा बाढी आउने, खेतीयोग्य जमिन कम हुने र सामूहिक खाद्य पदार्थ उत्पादन हुने खाद्यानमा आयोडिनको मात्रा कम हुनसक्छ। साथै त्यहाँका बासिन्दाले आयोडिनयुक्त नुनको सेवन अति कम तर तिब्बततिरको सस्तो नुन बढी सेवन गर्छन्। यसरी आवश्यक मात्राको आयोडिनयुक्त खाद्य पदार्थ खानवाट बञ्चित हुने हुँदा गर्भावस्थादेखि जीवनभरि आवश्यक यति महत्वपूर्ण सूक्ष्मम पोषक खनिज पदार्थ आयोडिनको कमीबाट धेरै स्वास्थ्य समस्या उत्पन्न हुने गरेका छन्।

आयोडिन कसरी पाउनेः २०४० सालतिर आयोडिनको कमी पूर्ति गर्नैपर्ने भएमा सुइको माध्यम र २०४८ सालतिर क्याप्सुलबाट पूर्ति गरिन्थ्यो भने अचेल सरकारद्वारा नुनमा आवश्यक आयोडिनको मात्रा छरेर थैलोमा बन्द गरी बिक्रीवितरण गरिन्छ।

आयोडिन जुनसुकै खाद्य पदार्थमा मिसाएर पूर्ति गर्न सकिन्छ। जस्तैः फिलिपिन्स, सिंगापुर लगायतका मुलुकमा दूध, चिनी वा पाउरोटीमा आयोडिन मिसाइएको हुन्छ भने नेपालमा सरकारी संयन्त्रमार्फत बिक्रीवितरण गरिने आयोडिनयुक्त नुनलाई सही किसिमले सेवन गरेमा मात्र आवश्यक मात्रामा आयोडिन प्राप्त गर्न सकिन्छ।

आयोडिन दुई तरिकाबाट पाउन सकिन्छः

१. प्राकृतिक आयोडिनयुक्त खाद्यपदार्थः खेत–बारीमा फल्ने हरिया तरकारी, फलफूल तथा समुद्रमा पाइने माछा, वनस्पतिका साथै समुद्रको पानीबाट सिञ्चित माटोमा उब्जने तरकारी र फलफूलबाट आयोडिन पाइन्छ।

२. आयोडाइजेसनः जुनसुकै खाद्य पदार्थमा आयोडिन मिसाउने काम (आयोडाइजेसन) गर्न सकिन्छ। विश्वका ७० प्रतिशतजति मुलुकले खाद्य पदार्थमा आयोडाइजेसन गर्छन् भने ७० प्रतिशतजति नै मुलुकले आयोडाइजेसन गरिएको खाद्य पदार्थ खाने गर्छन्। अमेरिकाली ९० प्रतिशतभन्दा बढी मुलुकमा आयोडाइजेसन गरेको खाद्यपदार्थ खान्छन् भने युरोपेली चाहिँ ५० प्रतिशत मुलुकमा आयोडाइजेसन गरेको खाद्यपदार्थ खाने गर्छन्।

फिलिपिन्स, सिंगापुर जस्ता मुलुकतिर दूध, पाउरोटी वा गहुँको पीठोमा आयोडिन मिसाई (आयोडाइजेसन) गरी बजारमा बिक्री–वितरण र उपभोग गरिन्छ। नेपालमा भने सम्पूर्ण जनसमुदायले नुन उपभोग गर्ने हुनाले खाने नुनमा आयोडाइजेसन गरी बिक्री–वितरण गरिन्छ।
आयोडिन प्रबर्धनः नेपालमा आयोडिन प्राप्त गर्न आयोडिनयुक्त नुन नै खानु पर्छ । सरकारी संयन्त्रमार्फत आवश्यक मात्रा ५० पिपिएम आयोडिन छरेको (आयोडाइजेसन) गरी थैलोमा बन्द गरिएको नुनलाई सही किसिमले उपभोग गरेमा मात्र आवश्यक मात्रामा आयोडिन प्राप्त गर्न सकिन्छ।

५० पिपिएम आयोडिन नुनमा मिलाइएको भए पनि बजारमा भण्डारण, घाम–पानीले आयोडिन नष्ट हुने र तातो ठाउँमा राम्ररी बिर्को बन्द नगरेमा आयोडिनको मात्रा कम भए पनि कम्तीमा १५ पिपिएम आयोडिन खाद्य पदार्थमा बाँकी रहेसम्म झन्डै आयोडिनको मात्रा पुग्छ। त्यसकारण सकेसम्म ५० नभए पनि नभई नहुने १५ पिपिएम आयोडिन पाउनका लागि निम्नानुसार गर्नैपर्छः

क).१. सरकारले दुई बालबालिकाको लोगो अंकित नुनको प्याकेट (आयोनुन, शक्ति, तेजनुन र भानुजस्ता नुन) मा आयोडिन मिसाएको हुनाले दुई बालबालिकाको लोगो भएको नुनमात्र उपभोग गर्नुपर्छ ।

२. बजारमा बिक्री वितरणका लागि राखिएको आयोडिनयुक्त नुन जथाभावी घाम–पानी पर्ने खुला ठाउँमा भण्डार नगर्न व्यापारीलाई चेतना दिनुपर्छ।

३. आयोडिनयुक्त नुनलाई घाम–पानी र अधिक तामक्रमले सजिलै बिगार्ने हुँदा आयोडिनको अधिकतम मात्रा बचाउन खुला ठाउँमा भण्डारण गर्न हुदैँन।

४. खरिद गरिएको आयोडिनयुक्त नुनलाई घरमा चुलो वरिपरि तातो ठाउँमा नराख्ने, बिर्को राम्ररी बन्द गर्ने बट्टामा राखी नुन झिकेपछि तुरुन्तै बन्द गर्नुपर्छ र ओसिएको आयोडिनयुक्त नुन उपभोग गर्नु हुँदैन।

५. सकेसम्म खाना खाने बेलामा मात्र नुन छर्केर खानु पर्छ।

६. वर्षाको पानीले खेतबारीमा बाढी, पहिरो र भू–स्खलनबाट आयोडिन बचाउन रुख–बिरुवा रोप्नु पर्छ।

७. भारतीय सिमानामा सस्तो मूल्यमा बिक्री–वितरण गरिने नुनमा आयोडिनको मात्रा बिल्कुलै कम पाइएको हुनाले त्यस्तो आयोडिनरहित नुनको आयात रोक्नु पर्छ।

ख). आयोडिन प्रबर्धनः नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आयोडिनयुक्त नुनमात्र उपभोगका लागि जनचेतना जगाउन वर्षेनी अंग्रेजी महिना फेबु्रअरीलाई आयोडिन प्रबर्धन महिनाको रुपमा मनाउने निर्णय गरेको छ। तर अझै पनि जनचेतनाको कमीले आयोडिनको महत्व नजानेर अधिकांश नागरिकले दुई बालबालिकाको लोगो अंकित आयोडिनयुक्त नुनको वास्ता नगरेको पाइन्छ।

त्यसकारण आयोडिनको प्रबर्धन गर्न जनचेतना जगाउनै पर्छ। यसमा विद्यालय, क्याम्पसस्तरमा आयोडिनयुक्त नुनको उपभोगका लागि व्यापक रुपमा जनचेतनामूलक क्रियाकलाप, स्थानीय तह र समुदायस्तरसम्मका स्वास्थ्य संस्था, सञ्चार माध्यम र साल्ट टे«डिङ्ग कम्पनीसँगको समन्वयमा सञ्चालन गर्नुपर्छ। आयोडिन प्रबर्धनसम्बन्धी सूचना, शिक्षा तथा सञ्चार सामग्रीको व्यापक उत्पादन तथा वितरण र वर्षका कम्तीमा चार वटा महिनालाई आयोडिन प्रबर्धन महिनाका रुपमा कार्यक्रम सञ्चालन गरिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *