मेलबर्नका लागि ‘खुशीको खबर’ बने सन्दीप

काठमाडौं, माघ २२ : एकदिवसीय र टी-२० शृंखला जितेर घर फर्किएको नेपाली राष्ट्रिय टोलीलाई सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रेड कार्पेट’मा स्वागत गरियो । राष्ट्रिय टोलीलाई स्वागत गर्दा स्टार बलर सन्दीप लामिछाने भने थिएनन् । उनी अष्ट्रेलिया पुगेका छन् । यसलाई उसले ‘खुशीको खबर’ भनेको छ ।

आज बिहान सन्दीप अष्ट्रेलिया पुगेका हुन् । उनको टीम मेलबर्न स्टारले फेसबुकमा स्टाटस् लेख्दै सन्दीप अष्ट्रेलिया पुगेको जनाएको छ ।

बिग बासमा मेलबर्न स्टारबाट खेलिरहेका सन्दीप एक महिना अघि बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश पुगेका थिए । उनले सिल्हेट सिक्सरको तर्फबाट बीपीएल खेलेका थिए ।

त्यहीबीचमा नेपाली राष्ट्रिय टोलीले यूएईसँग तीन एकदिवसीय र तीन टी–२० खेल्न दुबई हानिएका थिए । उनले एकदिवसीय र टी-२० मा नेपालका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।

राष्ट्रिय टोली घर फर्किदा भने उनी अष्ट्रेलिया उडेका हुन् । उनी मेलबर्न स्टारबाट बीबीएल खेल्ने छन् ।
उनको टोली मेलबर्न स्टार चौथो स्थानमा छ । उसले १२ खेलमा ६ जित र ६ हारका साथ १२ अंक बटुलेको छ । अझै दुई खेल बाँकी छन् ।

बीबीएलमा हबर्ट हुरिकेन्स् १८, सिड्नी सिक्सर र मेलबर्न रेनेगेटस् १६÷१६ अंकका साथ मेलबर्न स्टारभन्दा अगाडि छन् ।

सन्दीपको टोलीको अर्को खेल माघ २५ (फेब्रुअरी ८)मा छ भने अन्तिम खेल माघ २७ (फेब्रुअरी १०) मा छ । उनको टोलीको क्वालिफाइ गर्ने संभावना प्रवल छ ।

सन्दीप अष्ट्रेलिया पुगेको खबरले मेलबर्न टिमले पनि खुशी जनाएको छ । मेलबर्न स्टारले फेसबुक पेजमा सन्दीपको फोटो पोस्ट गर्दै लेखेको छ, ‘टिम ग्रिनका लागि खुशीको खबर, सन्दीप आइपुगेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *