तपाईलाई थाहा छ कुन देशमा कति मासु खपत हुन्छ ?

काठमाडौं, माघ २३ : अबदेखि मासु कम खान्छु वा खानै छाड्छु भन्ने मानिसहरू तपाईंले धेरै भेट्नुभएको होला । सामान्यतः स्वास्थ्य, वातावरण वा पशुप्रति संवेदनशील मानिसहरू यस्ता वाचा गर्छन् ।

बेलायतमा प्रत्येक तीनमध्ये एक मानिसले मासु खान छोडेको वा कम गरेको दाबी गर्छन् । अमेरिकामा प्रत्येक तीनमध्ये दुई मानिस कम्तीमा एक प्रकारको मासु कम खाने गरेको बताउँछन् ।

मिट–फ्रि मन्डे वा भेगनुअरीजस्ता अभियानले मानिसलाई मासु खान छाड्न र शाकाहारी जीवनशैली अपनाउन प्रेरित गर्दै आएको छ ।

तर यस्ता अभियानका कारण के विश्वमा मासुको खपत साँच्चै कम हुँदैछ त ?

गएको ५० वर्षमा मासुको विश्वव्यापी खपत तीव्र रूपमा बढेको देखिन्छ । सन् १९६० को दशकको प्रारम्भभन्दा अहिले मासु उत्पादन पाँच गुणा बढी हुन्छ । त्यस बेला वार्षिक सात करोड टन मासु उत्पादन हुन्थ्यो । सन् २०१७ मा ३३ करोड टन मासु उत्पादन भयो ।

मासु उत्पादन बढ्नुको सोझो अर्थ हो – मासु खानेको संख्या बढ्नु ।

यो अवधिमा विश्वको जनसंख्या दोब्बर बढ्यो । सन् १९६० को दशकमा पृथ्वीको जनसंख्या ३ अर्ब थियो । आज ७ अर्ब ६० करोडभन्दा धेरै छ ।

तर, जनसंख्या वृद्धिमात्रै मासु उत्पादन पाँच गुणाले बढ्नुको एकमात्र कारण होइन । मासुको उत्पादन र खपत बढ्नुको मुख्य कारण आयमा वृद्धि हो ।

विश्वभरि नै मानिसहरू धनी हुन थाले । आधा शताब्दीमा विश्वव्यापी औसत आम्दानी झण्डै तेब्बर भएको छ ।
देश जति धनी भयो, त्यहाँ मासुको खपत पनि त्यति नै बढ्छ ।

सबैभन्दा धेरै मासु कसले खान्छन् ?

मासुको खपत र प्रतिव्यक्ति आयबीच प्रत्यक्ष सम्बन्ध छ । सन् २०१३ मा सबैभन्दा धेरै मासु खाने देशको सूचीमा अमेरिका र अष्ट्रेलिया शीर्ष स्थानमा थिए । न्युजिल्यान्ड र अर्जेन्टिनासँगै दुबै देशमा प्रति व्यक्ति सय किलोग्रामभन्दा धेरै मासु खपत भएको थियो । यो परिमाण ५० वटा कुखुरा र आधा गाईको मासु बराबर हुन्छ ।

वास्तवमा‚ पश्चिमा देशहरूमा मासुको खपत उच्च रहेको देखिन्छ । पश्चिम युरोपका अधिकांश देशमा प्रति व्यक्ति ८० देखि ९० किलोग्राम मासु खपत हुने गर्दछ ।

अर्कोतिर विश्वका धेरैजसो गरिब मुलुक धेरै कम मासु खान्छन् । इथियोपियामा प्रति व्यक्ति औसत ७ केजी, रूवान्डामा ८ केजी र नाइजेरियामा ९ केजी मासु खपत हुन्छ । यो भनेको औसत युरोपेलीभन्दा १० गुणा कम हो । न्युन आय भएका देशमा मासुलाई अझै पनि विलासिताको साधन मानिन्छ ।

यो तथ्याङ्कले प्रति व्यक्ति उपलब्ध हुने मासुको परिमाण दर्शाउँछ‚ तर घर वा कुनै पसलमा खेर गएका खाद्य पदार्थको लेखाजोखा राख्दैन । वास्तवमा, मानिसहरूले योभन्दा केही थोरै मासु खान्छन्, तर अझै पनि यो नजिकको अनुमान हो ।

धनी देशले धेरै र न्यून आय भएकाले थोरै मासु खाने गरेको स्पष्ट छ । ५० वर्षदेखि यस्तै चलिआएको छ । त्यसो भए समग्रमा हामीले किन यति धेरै मासु खाइरहेका छौँ त ? यसमा मध्यम आय भए देशहरूको बढ्दो संख्याको महत्वपूर्ण भूमिका छ । चीन र ब्राजिलजस्ता तीव्र वृद्धि भइरहेका देशले पछिल्ला दशकहरूमा उल्लेखनीय आर्थिक वृद्धि गरेका छन् र मासुको खपतमा पनि ठूलो वृद्धि भएको छ ।

धनी देशले धेरै र न्यून आय भएकाले थोरै मासु खाने गरेको स्पष्ट छ । ५० वर्षदेखि यस्तै चलिआएको छ । त्यसो भए समग्रमा हामीले किन यति धेरै मासु खाइरहेका छौँ त ?

यसमा मध्यम आय भए देशहरूको बढ्दो संख्याको महत्वपूर्ण भूमिका छ । चीन र ब्राजिलजस्ता तीव्र वृद्धि भइरहेका देशले पछिल्ला दशकहरूमा उल्लेखनीय आर्थिक वृद्धि गरेका छन् र मासुको खपतमा पनि ठूलो वृद्धि भएको छ ।

केन्यामा सन् १९६० देखि मासु खपत थोरै फेरिएको छ । यसको विपरीत, सन् १९६० को दशकमा औसत चिनियाँ नागरिकले प्रति वर्ष ५ केजीभन्दा थोरै मासु खपत गरेका थिए । सन् १९८० को दशकको अन्त्यसम्म मासु खपत वृद्धि भई प्रति व्यक्ति प्रति वर्ष २० केजी पुग्यो भने पछिल्ला केही दशकयता मासुको खपतमा तेब्बर वृद्धि भई ६० केजी पुगेको छ ।

ब्राजिलमा पनि यस्तै भयो । सन् १९९० यता यहाँ पनि मासुको खपत झण्डै दोब्बर बढेको छ । यस क्रममा ब्राजिलले अधिकांश पश्चिमा देशलाई पछि पारेको छ । भारत एउटा उल्लेखनीय अपवाद हो । सन् १९९० यता औसत आयमा तेब्बर वृद्धि भए पनि मासुको खपत सोही अनुरूप बढेन । बहुसंख्यक भारतीय शाकाहारी हुन् भन्ने एउटा भ्रम छ । देशव्यापी रूपमा गरिएको एउटा सर्वेक्षणले दुई तिहाई भारतीयहरू थोरै भए पनि मासु खाने गरेको देखाएको छ ।

यद्यपि, भारतमा खपत हुने मासुको परिमाण न्यून छ । भारत विश्वकै सबैभन्दा थोरै मासु खपत गर्ने देश हो । यहाँ प्रति वर्ष प्रति व्यक्ति ४ केजीभन्दा थोरै मासु खपत हुन्छ । धार्मिक आस्थाका कारण केही भारतीय कुनै जनावर विशेषको मासु खाँदैनन् । त्यसैले पनि यस्तो भएको हुनसक्छ ।

मासु खपत पश्चिममा घटेकै हो त ?

धेरै युरोपेली र उत्तर अमेरिकी मासु कम खाने प्रयास गरिरहेको बताउँछन् । प्रभावकारी भएको छ त ?
छैन – तथ्याङ्कले भन्छ ।

युनाइटेड स्टेट्स डिपार्टमेन्ट फर एग्रिकल्चरको पछिल्लो तथ्याङ्कले केही वर्षयता प्रति व्यक्ति मासुको खपत वास्तवमा वृद्धि भएको देखाउँछ ।

मासुको लोकप्रियता कम हुँदै गएको अनुमान गरिए पनि, सन् २०१८ मा अमेरिकाको मासु खपत दशकौं यताकै उच्च रह्यो । युरोपेली संघमा पनि यस्तै हालत छ । पश्चिममा मासुको खपत स्थिर, वा सामान्य वृद्धि भए पनि, खाइने मासुको प्रकार भने परिवर्तन भइरहेको छ । रातो मासु – अर्थात् गाईगोरू र सुँगुरको मासु – कम र कुखुराको मासु धेरै खपत हुने गरेको छ । सन् १९७० को दशकमा एक चौथाई अमेरिकीले कुखुराको मासु खान्थे भने अहिले आधाजतिले खाने गरेका छन् ।

यसतो परिवर्तन स्वास्थ्य र वातावरणका लागि पनि सुखद समाचार हुनसक्छ ।

मासुको प्रभाव

केही परिस्थितिहरूमा मासु खानु लाभदायक हुनसक्छ ।

मासु र दुग्ध उत्पादन मध्यम परिमाणमा खाए, विशेष गरी आहारको विविधताको अभाव हुने देशमा‚ स्वास्थ्यलाई फाइदा पुग्नसक्छ ।

तर धेरै देशहरूमा‚ मासु खपत आधारभूत पौष्टिक फाइदाभन्दा पर छ । यथार्थमा, स्वास्थ्यको जोखिम हुनसक्छ । अत्यधिक मात्रामा रातो र प्रशोधित मासु खाने गरे हृदयरोग‚ हृदयाघात र निश्चित प्रकारका क्यान्सरको जोखिम बढी हुने अध्ययनहरूले देखाएका छन् ।

गाईगोरूको मासु वा बेकनको साटो कुखुराको मासु प्रयोग गर्नु सकारात्मक कदम हुनसक्छ । यो परिवर्तन वातावरणका लागि पनि राम्रो हुनसक्छ किनभने चारोलाई मासुमा रूपान्तरण गर्न‚ विशेष गरी गाई‚ प्रभावकारी हुँदैनन् ।

कुखुराको तुलनामा, जमिनको प्रयोग, पानी र हरितगृह ग्याँस उत्सर्जनमा गाईगोरूको मासुले तीनदेखि १० गुणासम्म प्रभाव पार्दछ । सुँगुरको मासुको प्रभाव यसको बीचमा कतै छ ।

सबै देशहरूमा दीगो र सन्तुलित मासु खपत हुने भविष्यका लागि केही महत्वपूर्ण परिवर्तन आवश्यक छ ।
केको मासु खाने भन्ने मात्रै होइन, कति मात्रामा खाने भन्ने सोंच एउटा हुनसक्छ ।

रिची अक्सफोर्ड मार्टिन स्कुलका अनुसन्धाता हुन् । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *