जीवनका उकाली–ओरालीमा मेरी माता

त्यस बेलाका प्रबुद्ध साहित्यकार चक्रपाणि चालिसे पहिले मेरा पितृव्य राममणि दीक्षितकहाँ आउनुहुन्थ्यो र त्यसपछि हाँडीगाउँको हाम्रो घरमा आउन थाल्नु भयो। माताजीसित उहाँको वार्तालाप म रोजै सुन्ने गर्थें। त्यस बेला म आठ वर्षको थिएँ। म सम्झन्छु– त्यही समय एक दिन मेरी माताजी मूच्र्छा पर्नुभयो (संवत् १९८६ मङ्सिर १०)। एपिलेप्सी (छारे रोग) नामक मूच्र्छा पर्ने त्यस रोगको प्रथम प्रारम्भको वास्तविक मिति अहिले म सम्झिन्नँ। तर उहाँ मूर्छा परेको देखेपछि म र मेरी माहिली दिदीले हाम्रो घरमा काम गर्ने एउटा गुरूङ केटोलाई दौडिएर जिन्सी अड्डामा गई पिताजीलाई घर आउन भनी पठायौं र पैंतालीस मिनेटपछि पिताजी घर फर्किनुभयो। माताजी मूर्छाबाट ब्यूँझिसक्नुभएको थियो।

यो घटनाभन्दा दुई वर्षपहिले म र विमला दिदी कोठाको बिछ्यौनामा ठूलो झूल हालेर सुतिरहेका थियौँ। दिदी निदाइसक्नुभएको थियो। म ब्यूँझै थिएँ। हाम्रो बिछ्यौनाको पूर्वतिर डसनैडसनाको डेढ हात अग्लो बिछ्यौनामा झूल हालेर मेरा पिता र माता पल्टिँदै सामान्य गफ गर्दै हुनुहुन्थ्यो। त्यस साँझको घटनालाई म निकै राम्ररी आजसम्म सम्झन्छु। प्रधानमन्त्री चन्द्रशमशेरको अवसान भइसकेको थियो। नयाँ प्रधानमन्त्री भीमशमशेरबाट मणि परिवारमाथि अन्याय र अत्याचारको ओइरो भर्खरै सुरू भएको थियो। मेरा माहिला काकालाई भीमशमशेरले काठमाडौंबाट डाँडा कटाएर पोखरातिर धपाइसकेका थिए।

त्यस अवस्थामा हाम्रो परिवारले ठूलाठूला दुःखकष्ट भोग्नुपरिरहेको थियो। बिछ्यौनामा पल्टिएकी माताजीले आफूले भोग्नुपरेका दुःखकष्टबारे र मेरी मातामहले बनारसबाट महिनावारी सय रुपैयाँ ‘हुलाक बीमा’द्वारा पठाइदिएको बारे उहाँहरु कुरा गर्दै हुनुहुन्थ्यो। त्यो रात मैले उहाँहरुका केही कुरा सुनिनँ। तथापि पिताजीले भन्नुभयो, “यी दुःखहरुबारे यसरी रोज सम्झना नगर्नू। यी सबै टरेर जान्छन्। एक दिन म त“लाई लिएर बेलायत जान्छु। त्यहाँ घुमफिर गरेपछि हामी दुई जना पेरिस गएर इटाली आई पानीजहाजबाट बम्बईसम्म आउँछौं। धन्दा नमान्।” त्यो सुनेपछि म आफू बम्बई बसेका बेलाको घटनाहरु सम्झिँदै निदाइसके छु।

त्यस्तैमा मेरा माहिला भाइ महेशमणि जन्मिए। त्यो दिन म र माहिली दिदी घरको पश्चिमपट्टि रहेको सानो खेतमा लप्सीको बिरुवा सार्दै थियौं। बीउबाट डेढ बित्ताजति अग्लो बिरुवा र त्यसका सामान्य जराहरु खेतमा प्वाल पारेर हामी हाल्दै थियौं। त्यस्तैमा मेरी फुपू हामीतिर आउनुभयो र मलाई भन्नुभयो, “ल मदन, तेरी आमाले फेरि छोरो जन्माइन्।” यति भनेर उहाँले आफ्नो दाहिने हातको हत्केलो धारिलो बनाएर मेरो टाउकामा करौंतीले झै“ तीनपटक चलाउनुभयो। के गरेको भनेर मैले त्यो दिन बुझिनँ। दोस्रो दिन मैले रूक्मिणी नाम भएकी बाहुनी बज्यैसित सोधेँ। तिनले मलाई भनिन्, “बाबू, तपार्इंको भाइ जन्मिएकोबारे बताएपछि अब तपाईंले सम्पत्तिको आधा भाग भाइलाई दिनुपर्ने भयो भन्ने बताउन नै तपार्इंको शिरमा करौँती जस्तोले चिरेर फुपूले आधा भाग गर्नुभएको हो।” त्यस बेला म भर्खरको बालकलाई सम्पत्ति के हो र सम्पत्तिमा भागबन्डा किन गरिन्छ भन्नेबारे केही थाहा थिएन। मैले केही बुझिनँ।

भाइको न्वारनको दिन मेरी ठूलीकान्छी आमा हाम्रो घर आउनुभएको थियो। दिउँसोको भोजनपछि उहाँसित कुरा गर्दै मैले आफूले धोबीखोलामा देखेको राँके भूतबारे बताएँ। उहाँमा त्यो भूत हेर्ने इच्छा भयो। घरबाट झन्डै २०० हातजति टाढा रहेको धोबीखोलामा मैले उहाँलाई पुर्‍याएँ। साँझ पर्न लागेको थियो। काठमाडौंमा साँझको तुवाँलोमा बादलले हो कि होइन जस्तो गरी सूर्यलाई ढाकेको थियो। त्यस बेला मैले धोबीखोलाको किनारमा रहेको मानिसको आधा फुटेको खप्पर र पूरै कङ्काललाई देखाएको सम्झिन्छु। त्यो देखेपछि उहाँ पनि तर्सिनुभयो र भन्नुभयो, “यही फुटेको टाउकोबाट तिमीले देखेको भूत निस्कने गथ्र्यो होला। साँझ पर्न थाल्यो; अब घर जाऔं।” उलिनकाठसहित दुई जना डोले उहाँलाई शान्ति निकेतन पुर्‍याउन पर्खिरहेका होलान् भनेर हामी सरासर घर फर्कियौँ। आफ्नो काखमा लिएर नयाँ छोरालाई सुमसुम्याइरहनुभएकी मेरी माताजीसित ठूलीकान्छी आमा बिदा भएर उलिनकाठमा बस्नुभयो। एक जना सेविका, बाहुनी बज्यैसँगै दुई जना डोलेले उहाँलाई बोकेर शान्ति निकेतनतिर हिँडे।

भाइ महेशमणि जन्मिएको महिना दिन बढी भइसकेको थियो। हाम्रा पुरोहित बाजे धरणीधर भट्टराईले घर आएर “भोलि वटसावित्रीको व्रत पूजा गर्ने दिन छ” भनी बताउनुभयो। हाँडीगाउँको हाम्रो घरमा पीपलको बोट थिएन। पूजा कहाँ गर्ने भन्नेबारे कुरा हुँदा माताजीले भन्नुभयो, “हाम्रो घरबाट ५०० हातजति उत्तरतिर धोबीखोलाको पूर्व किनारामाथि मैले पीपलको बोट देखेकी छु। यो वर्ष त्यहीँ गएर पूजा र व्रत गरौँ।” गरियो पनि त्यस्तै।

उपर्युक्त घटनाको केही समयपछि मेरी कान्छी बहिनी प्रमिलाले ज्यान गुमाउनुपर्‍यो। डेढ वर्षकी बहिनीले गुलियो लेप लगाइएको कुइनेनका आठ चक्की दराजका कपडाहरुबीच फेला पारेर खाइछन्। आधा घन्टापछि तिनलाई दिसा भयो। मैले घरको एक जना सेवकको कुममा तिनलाई बोकाएर हाँडीगाउँबाट डाक्टर बाबाको घर डिल्लीबजार पुर्‍याएँ। डाक्टर बाबा सिद्धिमणि आचार्य दीक्षित घरमा हुनुहुँदो रहेनछ। त्यसकारण बिरामी बहिनीलाई मैले आफ्ना साना कान्छा पितृव्यछेउ शान्ति निकेतन घरमा पुर्‍याएँ। घरको ठूलो ढोकामा पुग्दा नपुग्दै बहिनीलाई भुइँमा सुताएको देखेपछि मेरा पितामहले मलाई माताजीलाई हाँडीगाउँको घरबाट तुरून्तै बोलाएर ल्याऊ भनी मलाई भन्नुभयो। त्यस बेला म भर्खर नौ वर्षको हुन लागेको थिएँ। मैले दौडिएर आफ्नो घर गई माताजीलाई सबै कुरा बताएर पितामहको घर जाऔं भनी आग्रह गरेँ।

आफ्नी छोरी मरेको थाहा पाएपछि माताजी अत्यन्तै विह्वल हुनुभयो। उहाँ डाँको छाडी रूँदै बीस मिनेटपछि शान्ति निकेतन पुग्नुभयो। र, अवसानप्राप्त छोरीलाई जमिनमा सुताइएको देखेपछि छेउमा गएर झन् ठूलो डाँको छोडेर रून थाल्नुभयो। त्यस अवसरमा मेरा पितामहले ठूलो सिंहगर्जना जस्तै गर्दै भन्नुभयो, “एउटी छोरी मरी त के भो ? चराको एउटा फूल फुट्छ, तर त्यसले दोस्रो फुल पारिहाल्छ। यो रूवाबासी र डाँको किन ?”

त्यत्तिकैमा मेरा पिताजीलाई खबर पुर्‍याउन जिन्सी अड्डातिर मानिस दौडाइयो। उहाँ आउनुभयो। घटनाको चार घन्टापछि हाम्रो घरमा काम गर्ने बाहुन बाजेले दुवै हातमा बहिनीको शव राखे र पिताजी, म र अन्य दुई जना सेवक पशुपति आर्यघाटतिर लाग्यौँ। आर्यघाटको पश्चिमतिरको खुला मैदानमा खाडल खनेर बहिनीको शवलाई त्यहाँ हाली माटोले पुरेपछि हामी घर फर्कियौँ।

दुई दिनपछि माताजीले अति विह्वल भएर अश्रुधारा बगाउँदै मलाई पूर्वतिर गोकर्णमा हाम्रो खेत रहेको ठाउँमा गाईबाच्छाहरु हेरविचार गर्ने पण्डितछेउ पठाउनुभयो। उहाँले मलाई भन्नुभएको थियो, “तिनलाई भोलि बहिनीको पाँच दिनको क्रिया सम्पन्न हुने भएकाले सो अवसरमा दान गर्न एउटा बाच्छी लिएर आउनू भन्नू।” मैले त्यसै गरेँ। त्यस बेला हाँडीगाउँदेखि चाबहिल हुँदै आधा कोस टाढा घुँडासम्मको हिलोमा हिँड्दै म र हाम्रो छिमेकको एउटा मेरै उमेरको (नौ वर्षको साथी) गोकर्ण गएका थियौँ। यी सबै घटना हुँदा माता र पितालाई उहाँका कुनै दाजुभाइले सहायता गरेका थिएनन्।

बहिनी प्रमिलाको अवसान भएको केही महिनापछि माहिली दिदीको विवाह भयो। त्यो विवाह पनि विचित्र किसिमले भएको थियो। पहिलो दिन एउटा केटोको घरपट्टिका पाँच जना आएर मेरी पितामहीको कोठामा बसी पिताजीसँग कुरा गर्दै ‘छोरीको विवाह छिन्ने निर्णय’ भएको थियो। पिताजी अत्यन्त खुसी भएर अड्डातिर जानुहुँदा डिल्लीबजारको सडकमा उहाँको भेट डा. सिद्धिमणिसित भएछ। डाक्टर बाबाले कुरा छिनिएकोबारे सबै सुनेपछि भन्नुभएछ, “त्यो केटा क्षयरोगले ग्रस्त छ। म त्यसको औषधि गरिरहेको छु। अब त्यो केटो पन्ध्र महिनाभन्दा बढी बाँच्दैन। त्यसकारण त्यस घरमा छोरी दिन हुँदैन।” त्यो सुनेर पिताजी अति भावविह्वल हुँदै आफ्नो अड्डा पुग्नुभयो। जिन्सी अड्डाका कर्मचारीहरुमध्ये लेखनाथ देवकोटा एक जना हुनुहुन्थ्यो। पिताजी र लेखनाथबीच अति घनिष्ठ मैत्री सम्बन्ध थियो। लेखनाथजीले पनि “त्यस्तो ठाउँमा छोरी दिनु हुँदैन” भन्नुभएछ र दुई जनाबीच कुराकानी हुँदै जाँदा उहाँले आफ्नो ठाहिँला भाइ मित्रनाथ र मेरी माहिली दिदीबीच विवाह हुनसक्ने प्रस्ताव गर्नुभएछ। पिताजीले त्यो प्रस्ताव स्वीकार गर्नुभयो। त्यसरी कुराकानी भएको तेस्रो दिन माहिली दिदीको विवाह मित्रनाथ देवकोटासित सम्पन्न भयो। यस घटनालाई लिएर समेत मणि परिवारभित्र निकै ठूलो मतभेद भएको थियो।

त्यो विवाह सम्पन्न हुँदा मित्रनाथ देवकोटाका साहिँला दाजु महाकवि लक्ष्मीप्रसाद देवाकोटा भारतको पटनास्थित कलेजमा पढ्दै मुनामदन लेख्दै हुनुहुन्थ्यो। भाइको विवाहमा उहाँ सम्मिलित हुन सक्नुभएन।

(दीक्षितको संस्मारणात्मक पुस्तक ‘मेरी माता’को अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *