एउटै गाउँमा चितुवाले चिथोरेर २३ को मृत्यु

बैतडी जिल्लाको एउटै गाउँमा विगत ७ वर्षमा २३ जनाको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला छन् । एक सय भन्दा बढी घाइते भइसकेका छन् ।

विशालपुर, उदयदेव, पञ्चेश्वर, आम्चौर, गिरेगडा, रोडीदेवल, शिबनाथ र शर्माली गाविस मिलेर बनेको शिवनाथ गाउँपालिकाका स्थानीय वासिन्दाहरू हिजोआज चितुवाले चिथोर्ने डरले एक्लै–दुक्लै हिँड्दैनन् । चितुवाले खासगरी बालबालिका र एक्लै रहेका मानिसहरूलाई आक्रमण गर्ने गरेका छन् ।

यो गाउँमा २०६८ साल असाेजयता चितुवाको आक्रमणमा परी मृत्यु हुनेमध्ये १६ जना १० वर्षमुनिका र पाँच जना १६  वर्षमुनिका बालबालिका छन् । दुइ जना मात्रै वयस्क छन् । चितुवाको डरले एउटा परिवारले त गाउँ छाडेर अन्तै बसाइँ सरिसकेको छ ।

दिउँसो घरआँगनमै आएर चितुवाले आक्रमण गर्दा महिलालाई घाँसदाउरा गर्न र बालबालिकालाई विद्यालय जान समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर साउँदले बताए ।

डिभिजन बन कार्यालय बैतडीका अधिकृत केशव पराजुलीले शिवनाथ गाउँपालिकामा मान्छे मार्ने चितुवा एउटै हो कि होइन भन्ने यकिन भइनसकेको बताए । सात वर्षअघि चितुवाबाट एक बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाहरूले पासो थापी चितुवा मार्न थाले । उनीहरूले तीन चितुवालाई पासोमा पारेर र एकलाई गोली हानी मारे । तर, चितुवा आक्रमण रोकिनुको सट्टा झन् बढी हुन थाल्यो ।

पराजुलीको भनाइमा वन्यजन्तुको  वासस्थान खल्बलिएको र बनमा आहारको कमी भएकोले चितुवा गाउँ पसेको हो । मानिसले प्रत्याक्रमण गर्न थालेपछि चितुवा झन् बढी हिंस्रक र नरभक्षी भएको उनले बताए ।

सरकारले चितुवाको आक्रमणमा परी मृत्यु भएका २३ जनालाई जनही रु १० लाख र घाइते भएकालाई प्रति व्यक्ति रु २ लाखका दरले राहत वितरण गरेको छ । तर, मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्ने र चितुवाको आक्रमण रोक्ने ठोस पहल चाहिँ भएको छैन ।

चितुवा प्रभावित क्षेत्रमा गाउँलेको सुरक्षाका लागि पटक–पटक प्रहरी टोली खटाउने गरेको जिल्ला बन कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणि गिरीले बताए । तर, प्रहरीसँग चितुवा मार्ने अधिकार नभएकोले आफूहरूले खासै केही गर्न नसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *